Scroll To Top
News Trending

Popular Posts

Facebook Like

एप्पल विरुद्ध मुद्दा

आफ्नो अपरेटिङ सिस्टम ‘आइओएस ८’ ले ओगट्ने मेमोरी स्पेसका विषयमा उपभोक्तालाई जानकारी नगराई ढाँटेको आरोपमा आइफोन निर्माता कम्पनी एप्पलमाथि मुद्दा लागेको छ ।  आइपड, आइफोन तथा आइप्याडहरुमा लेखिएबमोजिम स्पेश नभएको भन्दै अमेरिकी उपभोक्ताले एप्पलमाथि मुद्दा दायर गरेका छन् ।
अमेरिकाको क्यालिफोर्नियास्थित अदालतमा मियामीका बासिन्दा पाउल ओर्शान र क्रिस्टोफर इन्डाराले एप्पल विरुद्ध मुद्दा दर्ता गरेका छन् । एप्पलका डिभाइसहरुमा भनिएभन्दा करिव २३ प्रतिशत कम मेमोरी रहेको दावी गर्दै उनीहरुले मुद्दा दायर गरेका छन् ।
साथै पुरानो ‘आइओएस-७’ अपरेटिङ सिस्टमबाट ‘आइओएस-८’ मा अपग्रेड गर्नका लागि उपभोक्ताले आफ्नो ग्याजेटको थप १.३ जिबी स्पेश गुमाउनु परेको तथ्य समेत वादीपक्षको छ ।
एप्पललका ग्याजेटहरुमा दाबी गरिए अनुसारको स्टोरेज क्षमता नहुँदा उपभोक्ताका ग्याजेटहरुको मेमोरी छिटै भरिने र त्यसपछि उपभोक्ताहरु पैसा तिरेर आइक्लाउड स्टोरेज सिस्टम खरीद गर्न बाध्य हुने व्यहोरा समेत निवेदनमा गरिएको छ । उनीहरुले एप्पलको यस्तो कामले एप्पल डिभाइस उपभोक्ताको दशौँ लाख डलर नोक्सान पुगेको भन्दै ठूलो रकम क्षतिपूर्ति समेत दाबी गरेका छन् ।
गएको सेप्टेम्बरको अन्त्यतिर एप्पलले ‘आइओएस-८’को पछिल्लो अपग्रेड सार्वजनिक गरेको थियो । तर आइफोन सिक्स र आइफोन सिक्स प्लसलाई यो अपग्रेडले निकम्मा बनाइदिएपछि एप्पलले पहिलो संस्करणको ‘आइओएस-८’ अपग्रेड फिर्ता लिन बाध्य भएको थियो । एप्पलले यस्तो त्रुटीपूर्ण अपरेटिङ सिस्टमको लागि माफी समेत मागेको थियो ।
१६ जिबी फोनको क्षमता किन हुन्छ १२ जिबी मात्र ?
तपाइँको कम्प्युटर वा फोनको स्टोरेज क्षमता कति छ ? यसको उत्तर द्विविधापूर्ण नहुनुपर्ने हो । तर दुर्भाग्य भएको छ । तपाइँले १६ जिबी इन्टर्नल स्टोरेज भनिएको फोन किन्नुभयो भने कहिल्यैपनि १६ जिबी बराबरको डाटा त्यसमा स्टोर गर्न सक्नुहुन्न । वास्तवमा तपाइँलाई थाहा हुँदैन, जबसम्म तपाइँले फोन किनेर त्यसलाई खोलेर सेटिङमा गएर उपलब्ध स्टोरेज क्षमता चेक गर्नुहुन्न ।
तपाइँले किनेको ग्याजेट जति स्टोरेज क्षमताको भनिएको छ उति किन हुँदैन होला ? यसका दुई कारण छन्:
फोन निर्माताले भण्डारण क्षमतालाई भिन्न रुपमा गणना गर्छन् भने सफ्टवेयरले भिन्न रुपमा
यो प्रायः सबैखाले कम्प्युटिङ डिभाइसमा उत्पन्न हुने समस्या हो । डिभाइस निर्माताले १ जिबीलाई एक तरिकाले गणना गर्छन् र सफ्टवेयर प्रयोग भएको उपकरणले अर्कै तरिकाले गर्छ । यसको अर्थ ३२० जिबी ल्यापटपको कहिल्यैपनि ३२० जिबी इन्टर्नल स्टोरेज हुँदैन । १ टिबी हार्ड डिस्कमा प्रयोग गर्न मिल्ने १ टिबी स्टोरेज हुँदैन । त्यसैगरी १६ जिबी क्षमताको फोनमा १६ जिबी स्पेश उपलब्ध हुँदैन ।
यसको हुनुको कारण फोन निर्माताले १ गिगाबाइट बराबर १ हजार मेगाबाइट गणना गर्छ । सफ्टवेयरले भने यसलाई फरक ढंगले लिन्छ । अर्थात् १ गिगाबाइट बराबर १०२४ मेगाबाइट गणना गर्छ । त्यसकारण फोन निर्माताले भनेको १ गिगाबाइटमा जम्मा १ हजार एम बी हुन्छ न की १०२४ एम बी । अर्थात् सफ्टवेयरको गणनामा १ गिगाबाइट क्षमता पुग्दैन ।
अर्को शव्दमा भन्दा डिभाइस निर्माताहरुले क्षमता मापनका लागि डेसिमल प्रणालीको प्रयोग गर्छन् । जबकी सफ्टवेयरले बाइनरी युनिट प्रयोग गर्छ ।
एप्पलले यस बारेमा आफ्नो वेबसाइटमा स्पष्ट रुपमा ब्याख्या समेत गरेको छ । ‘एक जिबी बराबर १ अर्ब बाइट, वास्तविक फम्र्याटेड क्षमता कम ।’
यस अर्थमा आइफोन अर्थात् १६ जिबी क्षमताका अन्य फोनको वास्तविक फम्र्याटेड क्यापासिटी कति हो त ?
बाइनरी विधि अनुसार १ जिबी बराबर १ अर्ब ७ करोड ३१ लाख ४१ हजार ८२४ बाइट । जस अनुसार १६ जिबी इन्टर्नल स्टोरेज भएको भनिएका आइफोनको सफ्टवेयरको पहुँचमा हुने वास्तविक स्टोरेज क्षमता १४.९ जिबी हुन्छ । त्यसैले १६ जिबीको आइफोनको वास्तविक स्टोरेज क्षमता १४.९ जिबी हुन्छ ।
पख्नुस् कुरो यत्ति मात्र होइन
अपरेटिङ सिस्टमले ओगटेको ठाउँ
१६ जिबी क्षमताको भनिएको फोनमा उपलब्ध वास्तविक १४.९ जिबी क्षमता पनि तपाइँले कहाँ पूरै उपयोग गर्न सक्नुहुन्छ र ? उक्त इन्टर्नल स्टोरेजमा फोनको अपरेटिङ सिस्टमले समेत ठाउँ लिन्छ । तपाइँको फोनमा इन्स्टल गरिएइको एन्ड्रोइड तथा आइओएस अपरेटिङ सिस्टमले उही स्टोरेज प्रयोग गरेको हुन्छ ।
त्यसकारण अपरेटिङ सिस्टमको साइज अनुसार तपाइँले आफ्नो उपलब्ध १४.९ जिबी भन्दा कम स्टोरेज प्राप्त गर्नुहुन्छ तपाइँका फाइल भण्डारण गर्नका लागि । कति कम स्टोरेज छ भन्ने कुरा कुन अपरेटिङ सिस्टम हो भन्नेमा भर पर्छ ।
उदाहरणका लागि एन्ड्रोइड ललिपप प्रयोग भएको नेक्सस फाइभ स्मार्टफोनमा मुख्य सफ्टवेयरले नै २.६ गिगाबाइट स्पेस ओगटेको हुन्छ र उपभोक्ताका लागि केवल १२.५ जिबी मात्र मेमोरी उपलब्ध हुन्छ । त्यस्तै सामसुङ टचविज युजर इन्टरफेस सँगै एन्ड्रोइड ४.४ सफ्टवेयर प्रयोग भएको सामसुङ ग्यालेक्सी एस फाइभमा ९ जिबी भन्दा पनि कम स्टोरेज उपलब्ध हुन्छ ।
त्यसकारण अब फोन किन्दा त्यसमा भनेजत्ति वा लेखिएजत्ति नै स्टोरेज हुन्छ भन्ने विश्वास र भ्रममा नपर्नुस् । १६ जिबी क्षमताको भनेर किनेको फोनमा १२ जिबी देखि ९ जिबीसम्म मात्र स्टोरेज उपलब्ध भएमा आश्चर्य नमाने हुन्छ । 

Share This:

No Comment to " एप्पल विरुद्ध मुद्दा "