Scroll To Top
News Trending

Popular Posts

Facebook Like

बिल गेट्सले पिए दिसाको पानी

विश्वका सबैभन्दा धनी व्यक्ति बिल गेट्सले मानिसको दिसाबाट निकालिएको एक गिलास पानी पिएका छन् । मानव मलमूत्रबाट पानी प्रशोधन गर्ने अत्याधुनिक प्रविधि विकाश भएको विषय दुनियालाई देखाउनका लागि गेट्सले दिसाबाट प्रशोधन गरिएको पानी पिएका हुन् । यो प्रविधि विकाशोन्मुख विश्वका मानिसहरुलाई स्वच्छ खानेपानीमा पहुँच पूराउन सहयोगी हुने गेट्सले दाबी गरेका छन् । बिल गेट्सले आफ्नो ब्लगमा पोष्ट गरेको भिडियोमा एक प्रशोधन मेसिनमा मानिसको मलमुत्र हालिएको र मेसिनले दिसापिसाब प्रशोधन गरेर निकालेको शुद्ध पानी एक गिलास गेट्सले तनतनी पिएको देखाइएको छ ।
माइक्रोसफ्टका संस्थापक बिल गेट्सकै लगानीमा आविष्कार भएको यो प्रविधि यहीँ वर्षको अन्त्यसम्ममा विश्वभर पूराउने लक्ष्य उनको छ । पानी प्रशोधन प्लान्टहरुको परीक्षण पश्चात् यी प्रशोधन प्लान्टहरुलाई विश्वभर पूराइनेछ । नयाँ प्रविधिको स्वागत गर्दै वाटर एडले यसबाट सहरी क्षेत्रका मानिसहरु बढि लाभान्वित हुने बताएको छ । विश्वमा अहिलेपनि ७४ करोड मानिस स्वच्छ खानेपानीको सुविधाबाट बञ्चित छन् ।
दिसापिसाबबाट प्रशोधन गरिएको पानी बोतलको पानी जस्तै उत्कृष्ट रहेको भन्दै गेट्सले उक्त पानी सुरक्षित र शुद्ध हुने भएकाले आफुले दिनहुँ पिउन चाहेको बताएका छन् ।
ओम्नीप्रोसेसर नाम दिएको उक्त प्रशोधन उपकरणका निर्माता पिटर जानिकीले मानिसको दिसा पिसाब मिलाइएको लेदोलाई उक्त प्लान्टमा हालिसकेपछि सुरुमा त्यसलाई उमालिने र त्यसबाट ठोस र पानीको बाफ छुटि्टने बताए । त्यसरी छुटि्टएको बाफलाई चिस्याएर पानीमा परिणत गरिन्छ र शुद्धिकरण प्रणालीमा हालेर पिउनयोग्य शुद्ध पानीमा परिणत गरिन्छ । ठोस पदार्थ जैविक पदार्थ भएको हुँदा त्यसलाई जलाएर विजुली निकालिन्छ । जुन बिजुली त्यो प्रशोधन मेसिन स्वयमं संचालन गर्नमा उपयोग हुने मात्र नभै विजुलीलाई अन्य काममा पनि प्रयोग गर्न सकिन्छ ।
फोहोर पदार्थलाई पिउने पानी तथा विजुलीमा परिणत गर्नुको महत्वबारे उल्लेख गर्दै गेट्सले सरसफाइको कमीका कारण विश्वमा वर्षेनी ७ लाख बालबालिकाको ज्यान जाने र कैयौँ बालबालिका रोगका कारण मानसिक र शारीरिक रुपमा पूर्ण विकशित हुनबाट बञ्चित हुने बताए । मानिसको दिसापिसाबबाट मुक्त हुने सुरक्षित र भरपर्दो तरिका अपनाउन सकियो भने धेरै मृत्यु रोक्न सकिने र बालबालिकाहरुलाई स्वस्थ बनाउन सकिने बताएका छन् ।
यो प्रकारको मानव मलमुत्रलाई खानेपानीमा परिणत गर्ने ओम्नीप्रोसेसर यहीँ वर्षको अन्त्यसम्ममा अफ्रिकी देश सेनेगलमा पठाउने योजना छ र त्यसपछि भारत लगायतका देशमा समेत पठाइनेछ ।
बिल गेट्स दम्पतीको च्यारिटी संस्था बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनको आर्थिक सहयोगमा ओम्नीप्रोसेसर परियोजना संचालित छ ।

Share This:

No Comment to " बिल गेट्सले पिए दिसाको पानी "