Scroll To Top
News Trending

Popular Posts

Facebook Like

शाओमी र फेसबुकबीच सहकार्य



विश्वको सबैभन्दा ठूलो सोसल नेटवर्किङ साइट फेसबुकका संस्थापक तथा सिइओ मार्क जुकरवर्ग र विश्वको तेश्रो ठूलो स्मार्टफोन निर्माता कम्पनी शाओमीका सिइओ ली जुनबीच संयुक्त लगानीका विषयमा छलफल भएको छ ।
गएको महिना शाओमीले १ अर्ब १० करोड लगानी जुटाउनुपूर्व जुकरबर्ग र ली बीच शाओमीमा फेसबुकको सम्भावित लगानीका विषयमा छलफल भएको खुलासा भएको हो ।
चिनियाँ एप्पललको नामले परिचित शाओमीका सिइओले जुकरबर्गसँगको छलफलमा लगानीका लागि आग्रह गरे पनि त्यसले मूर्तरुप भने पाएन । अक्टोबरमा जुकरबर्गले गरेको बेइजिङ भ्रमणका बेला एक प्राइभेट डिनर पार्टीमा यी दुई बीच छलफल भएको रोयटर्सले जनाएको छ ।
ली ले बेइजिङस्थित आफ्नै घरमा जुकरबर्गसँगै फेसबुकका व्यवसाय विकाश प्रमुख जोन ल्यागेर्लिङ र फेसबुकका चीन प्रमुख भघन स्मिथलाई डिनरका लागि आमन्त्रण गरेका थिए । उक्त डिनरवार्तामा लगानीका विषयमा ठोस सहमति नभएपनि दुई सिइओबीचको छलफलमा सन् २००९ देखि चीनमा फेसबुकमाथि प्रतिबन्ध लाग्नुका आर्थिक तथा राजनीतिक असर र शाओमीमा फेसबुकको लगानीका सम्भावित परिणतिहरुका विषयमा गम्भीर छलफल भएको बुझिएको छ । एक जानकारका अनुसार शाओमीले फेसबुकसँगबाट ठूलो लगानीको अपेक्षा नगरेको भएपनि यस घटनाक्रमबाट अमेरिका र चिनियाँ कम्पनीहरुबीच पछिल्लो समयमा गहिरिँदै गएको सम्बन्धलाई पुष्टि गरेको छ ।
चिनियाँ प्रविधि उद्योग परिपक्व बन्दै जाँदा अमेरिकी लगानीकर्ता तथा टेक धनाढ्यहरु लगानीका लागि इच्छुक बन्न थालेको बताइएको छ । फेसबुक र शाओमीबीच सन् २०१४ को मध्यतिरबाटै अनौपचारिक रुपमा सम्भावित लगानीका विषयमा छलफल सुरु भएको जानकारहरु बताउँछन् ।
यदि फेसबुकले शाओमीमा लगानी गरेको भए चिनियाँ एप्पल भनिने शाओमीको अन्तराष्ट्रिय प्रतिष्ठा बढ्नुका साथै १ अर्ब ३० करोड प्रयोगकर्ता रहेको फेसबुकका प्रयोगकर्तासँग समेत सामिप्यता स्थापित गर्ने थियो ।
विश्वमा सबैभन्दा बढि जनसंख्या रहेको देश चीनमा साझेदारसँग मिलेर आफ्नो प्रभाव विस्तार गर्ने लक्ष्य फेसबुकले लामो समयदेखि राख्दै आएको छ ।
तथापि फेसबुक र शाओमीबीच तत्कालका लागि लगानी सहकार्य नहुनुमा दुबै कम्पनीका आन्तरिक र बाह्य समस्याहरु कारकको रुपमा रहेका छन् ।
चीनमा प्रतिबन्धित रहेको फेसबुकबाट लगानी भित्राउँदा चिनियाँ सरकारको सम्भावित अवरोध तथा फेसबुकसँगको सहकार्यले व्यवसायिक साझेदार गुगल बिच्किने खतरा रहेका कारण शाओमीले तत्काल फेसबुकको लगानी भित्राउने विषयमा आँट गर्न नसकेको बताइन्छ ।
शाओमीका स्मार्टफोनहरु गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टमबाट चल्दै आएका छन् । चिनिया इन्टरनेट सेन्सर सम्बन्धि उच्च अधिकारी लु वेइले विदेशी सोसल मिडियाहरुले चिनियाँ समाजको तागतलाई अस्थिर बनाउने चेतावनी दिएको विषय शाओमीका लागि फेसबुकसँगको सहकार्यको एक बाधकको रुपमा रहेको छ ।
तथापि लु ले गत महिना अमेरिका भ्रमणका क्रममा फेसबुकको मुख्यालय भ्रमण गरि चीन र फेसबुकबीच सम्बन्ध सुधार हुन थालेको संकेत गरेका छन् ।
गत महिना शाओमीले थप १ अर्ब १० करोड लगानी जुटाएपछि कम्पनीको मूल्य ४५ अर्ब डलर पुगेको छ । पछिल्लोपटक शाओमीमा लगानी गर्नेहरुमा हंगकंगमा रहेको लगानी संस्था अल स्टार्स इन्भेस्टमेन्टका साथै फेसबुक र अलिबाबामा समेत लगानी गरेको इक्विटी र्फम डिएसटी ग्लोबल लगायतका रहेका छन् ।
फेसबुक चीनमा प्रवेश गर्न चाहन्छ र शाओमीले चीन बाहिर आफ्नो विस्तार गर्न चाहन्छ । त्यसैले दुबै कम्पनीले एक अर्कासँगको सहकार्यको महत्व बुझेका छन् ।
फेसबुकका संस्थापक जुकरबर्गकी श्रीमती चिनियाँ मूलकी भएकीले समेत जुकरबर्गले चीनमा आफ्नो लगानी सहज हुने ठानेको बताइन्छ । शाओमीसँगको रणनीतिक साझेदारीले आफ्नो एप तथा प्रयोगकर्तालाई अझ विस्तार गर्ने सुनौलो मौका पाउनुका साथै चीनमा लागेको प्रतिबन्ध उल्टाउने अवसर समेत प्राप्त हुने अपेक्षा फेसबुकको रहेको छ ।
स्मार्टफोनसँगै अनलाइन सेवा समेत प्रदान गर्दै आएको शाओमीका लागि फेसबुकसँगको सहकार्यले विशाल युजर डाटामा पहुँच स्थापित गरि विश्वव्यापी इन्टरनेट कम्पनीको रुपमा विकाश गर्न सहयोग गर्नेछ

Share This:

No Comment to " शाओमी र फेसबुकबीच सहकार्य "