Scroll To Top
News Trending

Popular Posts

Facebook Like

सार्कको संगठनात्मक संरचनामा हेरफेरको तयारी

१८ औं सार्क शिखर सम्मेलनको तयारीस्वरुप शनिबारदेखि काठमाडौंमा औपचारिक बैठक सुरु भएको छ । शनिबार सोल्टी होटलमा बसेको सार्क कार्यक्रम समितिको ४६ औं बैठकले सार्कको संगठनात्मक संरचनामा महत्वपूर्ण हेरफेर गर्ने प्रस्ताव अघि सारेको छ ।
सार्कको कार्यक्रम समितिमा सार्क राष्ट्रका सहसचिवस्तरीय सरकारी अधिकारीहरुको संलग्नता छ । शनिबार सुरु भएको कार्यक्रम समितिको बैठकमा नेपालका तर्फबाट पराराष्ट्र मन्त्रालयका सहसचिव यज्ञबहादुर हमालको टोलीले सहभागिता जनाएको छ ।
बैठकमा भारतका डा एएम गोन्डने, पाकिस्तानका मोहम्मद नाफेज जाकिरा, श्रीलङ्काका दर्शना पेरेरा, बङ्गलादेशका अब्दुल मोटालेब सरकेर, अफगानिस्तानका इल्हाम घर्जी, भुटानका निमा ओमे र मालदिभ्सका एस्थ लुइस जाहिर नेतृत्वको टोलीले सहभागिता जनाएको छ ।
इतबार र सोमबार सचिवस्तरीय बैठक
सार्कको स्थायी समितिको भूमिकामा रहेको परराष्ट्र सचिवहरुको बैठक आइतबार र सोमबार सोल्टी होटलमै बस्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठकमा आठवटै राष्ट्रका विदेश सचिवहरु सहभागी हुनेछन् ।
कार्यक्रम समितिले तयार पारेको सार्क घोषणापत्र र अन्य एजेन्डालाई सचिवस्तरीय बैठकले परिमार्जनसहित पारित गर्नेछ ।
मंगलबार विदेशमन्त्रीस्तरीय बैठक
सचिवस्तरीय बैठकले दुईदिने छलफलबाट टुंगो लगाएका विषयमाथि मंगलबार बस्ने सार्क राष्ट्रका परराष्ट्रमन्त्रीहरुको बैठकले थप छलफल गरी अन्तिम टुंगो लगाउनेछ ।
परराष्ट्र मन्त्रालयले दिएको जानकारी अनुसार शनिबारदेखि मंगलबारसम्म बस्ने सबै बैठकहरु सोल्टी होटलमै हुनेछन् ।
सार्कको निर्णय प्रक्रिया
सार्कका ११ वटा सेन्टरहरुले दिएको रिपोर्टका आधारमा सहसचिवस्तरीय कार्यक्रम समितिले सार्क सम्मेलनका एजेन्डा एवं सहयोगका क्षेत्रहरुको निर्धारण गरी स्थायी समिति अर्थात परारष्ट्र सचिवस्तरीय बैठकमा प्रस्तुत गर्छ । सार्क घोषणापत्रको प्रस्तावक आयोजक राष्ट्र नेपाल रहेको छ ।
सहसचिवस्तरीय बैठकले पारित गरेका एजेन्डालाई पराराष्ट्रमन्त्री स्तरीय बैठकले थप परिमार्जनसहित पारित गरेपछि शिखर सम्मेलनमा प्रस्तुत गरिन्छ ।
शिखर सम्मेलनमा सार्क राष्ट्रका प्रमुखहरुले कुनै पनि एजेन्डामा आफैं छलफल गर्दैनन् । उदघाटनका दिन राष्ट्रप्रमुखहरुले भाषण गर्छन् र भोलिपल्ट परराष्ट्रमन्त्रीस्तरीय बैठकले पारित गरेको घोषणापत्रमा हस्ताक्षर गरेपछि सम्मेलन सिद्धिन्छ ।
यसरी हुँदैछ शिखर सम्मेलन
मंसिर १० गते राष्ट्रिय सभागृहमा १८ औं सार्क शिखर सम्मेलनको  औपचारिक उदघाटन हुनेछ । त्यहाँ बनाइएको विशिष्ट मञ्चमा ८ राष्ट्रका राष्ट्रप्रमुख र सार्कका महासचिव अर्जुनबहादुर थापा रहने छन् ।SAVAGRIHA
उदघाटनमा मालदिभ्सका राष्ट्रप्रमुख अब्दुल्लाह यामिनले प्रधानमन्त्री सुशील कोइरालालाई अध्यक्षता हस्तान्तरण गरेपछि राष्ट्रप्रमुखहरुले शुभकामना मन्तव्य दिनेछन् । उनीहरुको मन्तव्य यस क्षेत्रको विकार र राजनीतिमा केन्दि्रत हुनेछ । सात देशका प्रमुखले अंग्रेजीमा सम्बोधन गरे पनि मोदीले सम्भवतः हिन्दीमै बोल्नेछन् ।
राष्ट्र प्रमुखको सम्बोधनमा नेपालमा संविधान चाँडो बनाउने सुझाव आउन सक्ने अपेक्षा नेपालका सरकारी अधिकारीहरुको छ ।
सार्क राष्ट्रलाई नेपालमा लगानीको वातावरण रहेको विश्वस्त गराउने भनाइ नेपालका परराष्ट्रमन्त्रीले यस अघि नै सार्वजनिक गरिसकेका छन् ।
सार्कका पर्यवेक्षहरुमा अष्ट्रेलिया, चीन, युरोपेली युनियन, इरान, जापान, मौरिसस, अमेरिका, जापान, म्यानमार र दक्षिण कोरिया छन्
पर्यवेक्षकलाई पाँच मिनेट
उदघाटन कार्यक्रकममा सार्कका पर्यवेक्षकहरुले पनि पाँच/पाँच मिनेट बोल्न पाउने भएका छन् । सार्कका पर्यवेक्षहरुमा अष्ट्रेलिया, चीन, युरोपेली युनियन, इरान, जापान, मौरिसस, अमेरिका, जापान, म्यानमार र दक्षिण कोरिया छन् ।
पर्यवेक्षक राष्ट्रका प्रतिनिधिहरु काठमाडौं आइसकेका छन् ।
अमेरिकाबाट एशिया मामिला विदेश उपमन्त्री नीरा देसाइ विसवाल काठमाडौं आएकी छन् । उनी भारतीय मूलकी अमेरिकन हुन् । त्यस्तै अष्ट्रेलियाका सांसद ब्रेट मसन, र चीनका उपविदेशमन्त्री लियु च्याङ मिन सार्कमा मन्तव्यका लागि काठमाडौं आएका छन् ।
भव्यरुपमा सिँगारिएको सभागृहमा चार घण्टामा उदघाटन सकिने छ । त्यसपछि साँझ प्रधानमन्त्री सुशील कोइरालाले पाहुनाहरुलाई रात्रीभोजको आयोजना गर्ने कार्यक्रम छ ।
सम्मेलनको भोलिपल्ट मंसिर ११ गते राष्ट्रप्रमुखहरुलाई रिट्रिटका लागि धुलिखेल लगिने कार्यक्रम छ । धुलिखेलमा राष्ट्रप्रमुखहरुले अनौपचारिक र द्वीपक्षीय छलफल गर्नेछन् । उनीहरुलाई हेलिकोप्टरमा लगिने सरकारी तयारी छ ।
रिट्रिटमा केही घण्टा बिताएर फर्किएपछि सभागृहमा समापन कार्यक्रम गरिनेछ । त्यसपछि राष्ट्र प्रमुखहरुले राष्ट्रपति डा. रामवरण यादवलाई भेट्नुका साथै राष्ट्रपतिका तर्फबाट आयोजना गरिने रात्रीभोजमा सहभागी हुनेछन् । र, १२ गते पाहुनाहरु आ-आफ्नो देश फर्कने छन् ।
मंसिर १२ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनी भ्रमण गर्ने बताइएको छ । मुक्तिनाथ जाने भनेका मोदीको सेड्युलबारे सरकारले केही पनि बताएको छैन ।
संरचनागत हेरफेरको तयारी
यसैवीच सार्कको १८ औं शिखर सम्मेलनले सार्कको संगठनात्मक संरचनामा हेरफेर गर्ने र बडापत्रलाई संशोधन गर्ने तयारी गरेको छ ।
शनिबार बसेको कार्यक्रम समितिको बैठकले सार्कका ११ वटा क्षेत्रीय केन्द्रहरुलाई घटाएर पाँचवटामा झार्ने प्रस्ताव  अगाडि सारेको छ । सार्कका ११ वटा क्षेत्रीय केन्द्रहरुमध्ये तीनवटा खारेज गरिने र चार वटालाई आपसमा गाभिने तयारी छ ।
काठमाडौंमा कार्यालय रहेको सार्क सूचना केन्द्र खारेज गर्ने प्रस्ताव ल्याइएको छ । त्यस्तै भारतमा रहेको सार्क अभिलेख केन्द्र र पाकिस्तानमा रहेको सार्क मानव संसाधन केन्द्रलाई पनि खारेज गर्ने कार्यक्रम समितिको प्रस्ताव छ ।
भुटानमा रहेको वन व्यवस्थापन केन्द्र, भारतमा रहेको विपद् व्यवस्थापन केन्द्र, मालदिभ्समा रहेको तटीय क्षेत्र व्यवस्थापन केन्द्र र बंगलादेशमा रहेको जलवायु अनुसन्धान केन्द्रलाई गाभेर एउटै बनाउने प्रस्ताव अघि सारिएको छ ।
नेपालमा रहेको टीबी, एचआइभी/एड्ससम्बन्धी केन्द्र, पाकिस्तानको इनर्जी सेन्टर र श्रीलंकामा रहेको सार्क सांस्कृतिक केन्द्र भने यथावत रहने छन् । बंगलादेशको कृषि केन्द्र पनि यथावत रहनेछ ।NN_KTM_SAARC Committee (4)
शनिबार बसेको कार्यक्रम समितिको बैठकले सार्कको प्रस्तावित ३१ बुँदे घोषणापत्रमा छलफल गरेको छ । जसमा विगतका निर्णयहरुको समीक्षा, गरीवी निवारण, आतंकवाद नियन्त्रण, आप्रवासी कामदारको समस्या, कृषि, स्वास्थ्य, शिक्षा, ग्रामीण विकास, महिला हिंसा, भ्रष्टाचार, सीमा सुरक्षा आदि विषयलाई समेटिएका छन् ।
सार्कमा आउन इच्छुक देशको विषयमा पनि छलफल भएको बताइएको छ । म्यानमारले सार्कको सदस्य बन्ने इच्छा जनाउँदै आएको छ । त्यस्तै रसिया पर्यवेक्षक बन्न इच्छुक छ ।
सार्क फ्री ट्रेड, फ्री भिसा, विभिन्न अवार्ड आदि विषयवस्तु पनि छलफलका विषय छन् । सार्कस्तरीय राष्ट्रिय गानको पनि तयारी पनि अहिलेसम्म टुंगो लाग्न सकेको छैन ।

Share This:

Labels:

No Comment to " सार्कको संगठनात्मक संरचनामा हेरफेरको तयारी "