Scroll To Top
News Trending

Popular Posts

Facebook Like

त्याग गरे समयमै संविधान बन्ने :प्रधानमन्त्री

प्रधानमन्त्री सुशील कोइरालाले सबै राजनीतिक दलले केही न केही त्याग गरे समयमै संविधान बन्ने बताउनुभएको छ ।
‘विविधतामा एकता’ भन्ने नाराका साथ संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले आज आयोजना गरेको तेस्रो राष्ट्रिय ट्रेड युनियन सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री कोइरालाले ‘मेरो गोरुको बाह्रै टक्का’ भनेर अडान नलिई सबैले सहमति गरेरै संविधान बनाऔँ भन्ने भावना राख्नुपर्ने बताउनुभयो ।
“मुलुकको शान्ति, स्थायित्व र लोकतन्त्रका लागि पनि संविधान जारी गर्नैपर्छ,” उहाँले भन्नुभयो, “सबै दलका नेतासँग मेरो गम्भीर छलफल भइरहेको छ, त्यसैले समयमै संविधान आउँछ भन्नेमा विश्वस्त हुन सबैलाई म आग्रह गर्दछु ।”
कसैले पनि नहार्ने सबैले जित्ने ‘विन–विन’ को स्थिति आत्मसात् गर्नुपर्छ भन्दै प्रधानमन्त्री कोइरालाले सबैले ‘गिभ एन्ड टेक’ बाटै सहमति खोज्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले आफ्नै नेतृत्वको सरकार रहँदै श्रम आयोग गठन गरी श्रमिकलाई अधिकार तथा ज्यालाको प्रत्याभूति दिलाउने विश्वास प्रकट गर्नुभयो ।
अन्तर्राष्ट्रिय ट्रेड युनियन महासङ्घ, एसिया प्रशान्त क्षेत्रका महासचिव नोरियुकी सुजुकीले महासङ्घमा प्रत्यक्ष रुपमा ६ करोड श्रमिक आबद्ध रहेको बताउँदै अझै पनि श्रमिकको हक, अधिकार सुनिश्चित गर्ने काम चुनौतीपूर्ण रहेको बताउनुभयो ।
विश्व ट्रेड युनियन महासङ्घका उपमहासचिव एच. महादेवनले १५० वर्षअघि लन्डनमा पहिलो विश्व ट्रेड युनियन सम्मेलन भएको स्मरण गर्दै नेपालको यो सम्मेलन ऐतिहासिक भएको बताउनुभयो ।
अखिल नेपाल ट्रेड युनियन महासङ्घका अध्यक्ष शालिकराम जम्मरकट्टेलले २०६३ सालमा लहानमा चार ट्रेड युनियनको आयोजनामा पहिलो सम्मेलन भएदेखि यता नेपालमा मजदुर आन्दोलन सशक्त हुँदै गइरहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल ट्रेड युनियन आन्दोलनलाई एकताबद्ध गर्न समन्वय केन्द्र निर्माणमा नेतृत्व गर्नुभएका मजदुर नेता मुकुन्द न्यौपाने र लक्ष्मण बस्नेतलाई सम्मान गरिएको थियो ।
यस्तै, सम्मेलनले न्यूनतम पारिश्रमिक निर्धारण, श्रम कानुन तथा सामाजिक सुरक्षा कानुन, न्यूनतम पारिश्रमिक पुनरवलोकन, प्रवासी श्रमिकलगायतका विषयमा प्रस्ताव पारित गरेको छ ।

Share This:

Labels:

No Comment to " त्याग गरे समयमै संविधान बन्ने :प्रधानमन्त्री "