क्रेडिट कार्ड प्रयोग गर्नुहुन्छ ? होस गर्नुस्, भुसुक्कै ठगिनुहोला नी !
अहिलेको समाजमा क्रेडिटकार्ड कुनै नौलो विषय होइन। तर कहिले श्रीखण्ड जस्तो काम गर्छ यसले, त कहिले खुर्पाको बिंडसरी । कहिले नसोचेको चर्को ब्याज तिराउँछ यसले, त कहिले ‘चलाउँ कि नचलाउँ’ भन्ने पनि बनाउँछ । क्रेडिटकार्डलाई चलाउन जान्दा घाटै नहुने केवल सुविधामात्र पाउने श्रीखण्ड जस्तो बासनादार फाइदा हुन्छ भने चलाउन जाने ‘काउछोसरी चिलाएर उकुत नै जन्माउन बेर मान्दैन । यसका सम्बन्धमा सबैसँग आआफ्ना अनुभव होलान नै । मैले भोगेका यस सम्बन्धी तीता–मीठा अनुभव छलफल गर्दा राम्रो हुन्छ कि भनेर लेख्दैछु । म कुनै अर्थशाष्त्री पनि होइन र यसको विशेषज्ञ पनि होइन । तरपनि मेरा अनुभव बताउँदा घाटा के नै लाग्ला र ? अरुले यसबाट लिएका फाइदा जान्दा पनि राम्रो र कहिलेकाही नमीठो पारेको कारण थाहा पाएर सतर्क हुँदा पनि फाइदै होला ।
क्रेडिटकार्डको सबैभन्दा जान्नुपर्ने विषय भनेको यसबाट खर्च गरिएको रकम तिर्ने दिन हो । ब्यालेन्स रकमलाई तरिका मिलाएर तिर्न जाने यसले फाइदा दिन्छ, ब्याज तिर्ने खर्च पर्दैन । यदि ब्यालेन्स तिर्नुपर्ने दिनमा भुक्तान नगरेर ब्याज तिर्न पर्यो भने काउछोले जस्तो पोल्छ । मूल कुरो के हो भने क्रेडिट कार्डको ब्याज दर साह्रैनै महँगो हुन्छ । त्यसैले ब्याज नलाग्ने समय सीमा पहिचान गरेर कुन दिनसम्ममा ब्यालेन्स भुक्तान गर्दा ब्याज लाग्दैन भन्ने किटान गर्न सवैभन्दा जरुरी हुन्छ ।
मेरो अनुभवः पहिलो पटक मेरो हातमा क्रेडिटकार्ड परेपछि एक महिनासम्म ब्याज तिर्न पर्दैन भनेर त्यसैबाट किनमेल गरें । एक महिनापछि स्टेटमेन्टमा देखिएको ब्यालेन्स पनि तिरें । फेरि दोस्रो महिनापनि त्यही क्रेडिटकार्डबाट किनमेल गरें । अर्को महिना फेरि यसबाट किनेको जति रकम तिरुँला भन्ने सोचें । तर अर्को स्टेटमेन्ट आउँदा त त्यसमा ब्याज पो जोडेको रहेछ । कार्ड कम्पनीले गल्ती गर्यो भन्ने लाग्यो । त्यसैले फोन गरे कस्टोमर सर्भिसमा । अनि बल्ल चुरो कुरो थाहा पाएँ । न अङ्ग्रेजी क्यालेण्डर न नेपाली क्यालेन्डरको महिना हुँदो रहेछ त्यो ब्याज नलाग्ने महिना त । ब्याज नलाग्ने एक महिना भनेको त अघिल्लो स्टेटमेन्टदेखि अर्को स्टेटमेन्टसम्मको समय पो रहेछ । क्रेडिटकार्डको स्वादको महिना पो हुँदो रहेछ । त्यति कुरो जान्न पहिलो महिनाको ब्याज तिर्न पर्दा ल, यही फीस तिरेर यति कुरा जाने भनेर सन्तोष लिएँ । एक मनले त यो जाबो चलाउँ कि नचलाउँ जस्तो पनि भयो । पैसा नहुँदा ब्याजै तिरेर पनि त क्रेडिट कार्डबाट काम चलाउन पर्ने अवस्था पर्नसक्छ भन्ने पनि लाग्यो । कार्ड कम्पनीले चाही डाइरेक्ट डेबिट गरेर सवै ब्यालेन्स भुक्तान गर्न उक्साउँदा रहेछन त्यसो गर्न पनि उचित ठानिन । सवै ब्यालेन्सको डाइरेक्ट डेबिड गर्दा खातामा पैसा नभएको बेला तिर्ने दिन पर्यो भने झन ब्याङ्कले चर्को जरिवाना ठोक्छ । उता क्रेडिट स्कोर पनि बिग्रन्छ भन्ने डर लाग्यो ।
क्रेडिट कार्ड चलाउन थालेको धेरै बर्ष भैसक्यो। अव भने क्रेडिट कार्ड चाही चलाई राख्छु । सुरु–सुरुमा यो चलाउन सिके बापतको ब्याज चाही थोरै–धेरै तिरेको छु । आजभोलि चाही दुईवटा त्रेडिटकार्डलाई समय मिलाई–मिलाई चलाउनु र ब्याज तिर्दिन ।
अर्को एउटा तरिका सिक्न पनि झण्डै फिस तिरेको थिएँ । तर, झगडा गरेर फुरसद पाएं । झगडा पनि नेपालीमा गर्न पाए त सजिलो हुन्थो नि अङ्ग्रेजीमा झगडा गर्नपनि मलाई त कनिकुथी नै हुन्छ, के गर्नु बाउबाजेको भाषा परेन । तर जे होस जनतन गरें गाठे । भयो के भने ब्याज–स्याजको झन्झटभन्दा जाबो क्रेडिटकार्ड नचलाउन पर्यो भनेर चुपलागि बसेको थिएँ । एउटा स्टेटमेन्टमा त चार्ज भनेर तीन–बीस (६० पाउण्ड) रकम ठोकेर पठाएछ । फेरि कनी कुथी अङ्ग्रेजीमै कस्टोमर सर्भिसमा फोन गरें । आफ्नो जन्मदिनदेखिका नालीबेली बताएपछि बल्ल तेरो कुरो भन भनी खैरेनीले । केको चार्ज सार्ज हो दिन्न मैलेत भनेर तर्क गरें । उसले मेरो कुरा धार्जे सुनेपछि भन्न थाली– “छ महिनासम्म तेरो त्रे्कडिटकार्डबाट कुनै किनमेल नभएको र बर्षमा पाँच सय पाउण्ड भन्दा कम किनमेल गरेको हुनाले बार्षिक–फी तिर्नु पर्छ” । तर बर्षमा पाँच सय पाउण्ड भन्दा बढीको किनमेल गरेको खण्डमा चार्ज नलाग्ने पनि बताइ । ‘चार्ज तिर्नपर्ने भए मेरो कार्ड क्यान्सिल गर, मलाई चाहिन्न’ भनेपछि उसले एक पटकलाई त्यो चार्ज छुट हुने बताई । तर, छुट गर्न भन्दा पहिला मलाई एकछिन होल्डमा राखी । त्यसपछि सुपरभाइजरबाट छुट दिन अनुमति भएको भन्दै एक पटकलाई त्यो चार्ज छुट गरेर कार्ड चाहीँ बदर नहुने भयो । उनीहरुको नाटकै होला भन्ने ठानें मैले । त्यसपछि भने ब्याज र चार्ज तिर्न परेको छैन । तर किनमेल चाही क्रेडिट कार्डबाट गर्छु र समय मै तिर्छु ।
अमेरिकन एक्सप्रेशको क्रेडिट कार्डले भने पहिला केही वर्ष किनमेल गरेको रकमको एक प्रतिशत क्यासब्याक दियो । पछि एक महिनासम्म ब्याज नलिने तर क्यासब्याक नदिने भयो । त्यसपछि बार्षिक चार्ज लिने भनेपछि कार्ड नै बदर गराएँ । न रह्यो बासँ न बज्यो बाँसुरी ।
अलि वर्ष पहिलेको कुरो हो क्रेडिट कार्डले विना ब्याजको एक वर्षसम्म क्रेडिट दिन्छु, सुरुमा २।९९ प्रतिशत हेण्डलिङ फी (चार्ज) लाग्छ त्यसपछि महिनाको ५ प्रतिशत रकम हरेक महिना तिर्नुपर्छ भनेर जिस्काएको जिस्काई गर्यो । त्यही देखेर मैले पनि नआँटेपनि हुने कारोबार आँटे । तिर्ने बेला एक वर्षमा आइहाल्यो । तिर्न पैसा भएन । फेरि कनि कुथी नेपालबाट पैसा ल्याएर तिरेँ नत्र चर्को न चर्को ब्याज पर्ने हुन्छ, के गर्नु त ? त्यसपछि यो क्रेडिटकार्डको बिनब्याजे रकम पनि लिन छाडें । ‘अगुल्टोले हानेको कुकुर विजुलीदेख्दा तर्सन्छ” भने जस्तै भएको छ । त्यसैले साथीमाइहरुलाई बिनाब्याजे पैसा दियो क्रेडिट कार्डले भनेर चिल्लो गाडीमा आँखा नलाउनुस भन्छु । तर, योजना बनाएर भुक्तानी गर्ने मितिमा पैसा नअड्कने छ भने सित्तैको पैसाबाट काम चलाउँदा पनि मुर्खचाहीँ बनिँदैन भन्छु म त ।
अहिलेको मेरो चलन के छ भने एउटा कार्डको स्टेट्मेन्ट आएपछि त्यो सबै रकम तिर्छु । त्यो महिना त्यो कार्ड चालउँदै चलाउन्न अर्को कार्ड चलाउँछु । अनि अर्को स्टेटमेन्टमा सुन्ना ब्यालेन्स आउँछ । ‘अड्को पड्को तेलको धुप’ पनि कामलाग्छ भनेर क्रेडिट कार्ड धानिराख्ने नसा पनि लागेको छ मलाई त ।
कहाँ चलाउने कहाँ नचलाउने त !
प्रसंग अलि फेरौं अब । यो क्रेडिट कार्डको ठगी प्रकरण पनि चर्कै पो सुनिन्छ । अझ इन्टरनेटमा कार्ड नम्बर हाल्यो सामान किन्यो गर्न प्रविधिको सुविधा पनि बनेको छ । तर ठगहरुलाई ठग्न सजिलो पनि पारेको छ । हेक्का राख्न सके सवै तिर ठग मात्रै पनि छैनन् । तर, के गर्ने के नगर्ने भन्ने विषयमा चलाखी गर्न भने जरुरी छ । इन्टरनेट फिसिङ र भाइरसबारे अतिआवस्यक जानकारी छैन भने इन्टरनेट तिर कार्डनम्बर नचलाएकै राम्रो । इन्टरनेट सुरक्षाको सामान्य जानकारी छ भने सुरक्षित कम्प्यूटरमा क्रेडिटकार्डबाट कारोबार गर्दा फरक पर्दैन भन्ने नै मेरो अनुभव छ । ठगहरुले त पुलिसलाई पनि छक्काउँछन भने सधै सत्प्रतिशत सुरक्षित हुन त गाह्रो छ । तैपनि कतिपय गठीको मामलामा त कार्ड कम्पनीहरुले नै ठगिएको रकम फिर्ता पनि गर्छन । होस पुर्याउनु पर्छ, डराइहाल्नु पर्दैन ।
प्लेन भाडा क्रेडिटकार्डबाट तिर्ने सम्बन्धमा !
बिस्वासिलो कम्पनीहरुसंग क्रेडिट कार्डबाट कारोबार गर्न सुरक्षित हुन्छ । किन कि कारोबारको विस्वासको कारणले गर्दा ठगी भएमा त्यस्ता कम्पनीहरु नै जिम्मेवार हुन्छन् । आफूले जानेबुझेको कम्पनी होइन भने नगदमै कारोबार गर्दा राम्रो हुन्छ । कतिपय कम्पनीहरु ग्राहकबाट पैसा लिइसकेपछि कम्पनी टाटपल्टाएर (लिक्विडेसन) ग्राहक ठग्ने पनि हुन्छन् । त्यस्ता ठग उद्देश्य राखेका कम्पनीहरुले अरुकोभन्दा कम मुल्य गर्ने तर ग्राहकलाई सस्तोको लोभ गर्दा ठूलै घाटा लाग्ने अवस्था बनाउँछन् । त्यस्ता कम्पनीसंग त नगदमै पनि कारोबार गर्न हुँदैन ।
प्लेन भाडा तिर्दा क्रेडिट कार्डले केही चार्ज लिने गर्छ । एयरवेज अनुसार फरक नियम पनि भेटिन्छ । कतिपय क्रेडिट कार्डहरुको अफर राम्रो छ भने त्यस्तो चार्ज तिरेरै पनि क्रेडिट कार्डबाटै टिकट किन्दा फाइदा हुन्छ । तर कार्डको सर्तहरुमा ध्यान दिनु पर्छ । उदाहरण– यदि क्रेडिट कार्डबाट टिकट किन्दा ट्राभल इन्सोरेन्स कभर हुने रहेछ भने कार्डबाट तिरे बापतको चार्ज तिर्दापनि आफु फाइदा मै भइन्छ । तर सवै कार्डमा त्यस्तो सुविधा हुँदैन । कुनैमा हुन्छ भने कुनैमा हुँदैन । आफ्नो क्रेडिट कार्डमा त्यो सर्त र अफर छ छैन आफैले बुझ्नु पर्दछ ।
कतिपय एयरवेजहरुले भाडा सस्तो देखाउने तर डेभिड वा क्रेडिट जुनसुकै कार्डबाट पैसा तिर्दा पनि चर्को चार्ज लिने गर्न थालेपछि बेलायत सरकारले लिन पाउने चार्जको सीमा तोकिदिएको छ । खास गरी ‘बजेट–एयर’हरुमा सस्तो भाडा देखाएर ग्राहक लोभ्याउने तर, कार्डबाट पैसा तिर्दा चर्को मुल्य लिने घुमाउरो बाटो अपनाएर पैसा कमाउने उद्देश्य राखेको पाइन्छ । आखिर सवै कम्पनीहरुको उद्देश्य त नाफ कमाउने नै हुन्छ । पैसा कमाउने ग्राहक चुसेरै हो । आखिर थुत्दा मन दुखाउने कि फकाएर थुत्ने भन्ने मात्र हो ।
सामान्यतया हवाई टिकटको पैसा डेभिड कार्डबाट तिर्दा चार्ज नलाग्ने क्रेडिटकार्डबाट तिर्दा दुई प्रतिशत चार्ज लाग्ने गर्छ ।
from SHYANE http://ift.tt/1QdOWaI
via समाचार
No Comment to " क्रेडिट कार्ड प्रयोग गर्नुहुन्छ ? होस गर्नुस्, भुसुक्कै ठगिनुहोला नी ! "